बाँके रा.नि.भित्र कनुवा तालमा सिमसार दिवस सम्पन्‍न

  











   तस्बिरः कनुवा(सुतैया) ताल, बाँके

कार्यक्रमको परिचय

बाँके राष्ट्रीय निकुञ्‍ज अन्तर्गत पर्ने कनुवा तालमा विश्व सिमसार दिवसको उपलक्ष्यमा ताल परिसरको सर्सफाइ एवं सरोकारवालाहरुको सहभागितामूलक कार्यक्रममा सरिक भएँ । संरक्षणका साझेदार निकायहरु एवं सरोकारवालाहरुको उपस्थितिमा बाँके राष्ट्रीय निकुञ्‍जको मुख्य कार्यालय,ओभरी, ZSL (जुलोजिकल सोसाइटी अफ लण्डन ) र पश्चिम सेक्टर कार्यालय,कोहलपुर,TAL (तराई भू-परिधि परियोजना),CBAPU, नेचर गाइड, गोही अनुगमन टोली, निकुञ्‍ज गतिविधिहरुमा सैन्य सुरक्षार्थ तैनाथ रणबम गण, देउराली हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, कोहलपुर मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि र सुतैया अर्थात् कनुवा ताल देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन समूहको उत्साहजनक सहभागिता थियो । अनुपम सौन्दर्ययुक्त सिमसारको उत्कृष्ट उदाहरणका रुपमा ताल परिसरको स्थलगत निरिक्षण गरियो साथै तालको अवस्था, सम्भाव्यता, पर्यापरिपर्टनका गतिविधिहरु, पर्यटकहरुको प्राथमिकता, व्यवस्थापनमा देखापरेका चुनौतीहरु, इत्यादिबारे ‍जानकारी लियौँ । उक्त सामुदायिक वनको पर्यटन लक्षित विस्तृत योजना खाकाका साथ अघि बढिरहेको त्यहाँका उपस्थति सदस्याहरुबाट बुझ्यौँ।

 

तालका नाममा रहेका मतान्तर

           हामी ताल परिसरका स्थानीयहरु र सामुदायिक वनका सदस्यहरुसँग बुझ्दा सुतैया तालको नामले चिनिने यस तालको नामका सवालमा भने थुप्रै मतान्तर भेट्यौँ। स्थानीय सँस्कृति र भूगोलको पहिचानलाई आँगल्दा कतिपयको रायअनुरुप कनुवा तालबारे मत भेटियो। कतिपय आम मानिसहरु र समूहका उपभोक्ताहरुको बुझाइमा उक्त तालको नाम महेन्द्र ताल राखिनेबारे मनासय बुझ्यौँ, महेन्द्र थारुले यस तालको स्थापना र व्यवस्थापनका क्रममा थुप्रै संघर्षपूर्ण योगदानको कदर स्वरुप महेद्र ताल राखिए सार्थक हुने धारणा राख्नुभयो। मैले थुप्रै सञ्जाल र अनलाइन पोर्टलमा सुतैया ताल भनी उक्त ताललाई चिनाएकोबारे थाहा पाएँ ।

    

सर्सफाइ कार्यक्रमको स्वरुप

             ताल परिसरमा भेला हुनु भएका सरोकारवालाहरुको उत्साहजनक सहभागितामा ताल परिसरमा फालिएका प्लाष्टिकका खोस्टाहरु, गुटखा,पान मसलाका प्याकेटहरु, पिउने पानीका बोतल, ग्लास, सिसाहरु बटुलेर संकलन गर्‍यौँ र एकत्रित गरेर उचित तरिकाले फोहोरमैला व्यवस्थापन गर्‍यौँ । उपस्थित मानिसहरु मास्क र पान्जा लगाएर परिसर सर्सफाइ गरे । यसरी सर्सफाइको कार्यक्रमका मार्फत उक्त ताल सिमसारको राम्रो नमुनाका रुपमा विकास गर्न परिसर स्वच्छ साथै घुम्न आउने पर्यटकका निम्ति फोहोरमैला र पर्यटकीय गतिविधिहरुको व्याख्या र जानकारीका निम्ति बोर्ड र सूचना पाटीहरुको महत्व उक्त समूहका मानिसहरुलाई बुझायौँ ।

 

सरोकारवालाहरुको सुझाव

              सर्सफाइको कार्यक्रम सकिए लगत्तै हामी तालको समीपमा बसेर साझा तस्बिर लियौँ अनि देउरी हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र खत्रीको अध्यक्षतामा अनौपचारिक कार्यक्रममा जस्तो गरि उपस्थित अतिथिहरु क्रमशः कोहलपुर मध्यवर्ती समितिका अध्यक्ष गहेन्द्र खडका , तराई भू-परिधि कार्यक्रमका संयोजक राम किशोर यादव, बाँके राष्ट्रीय निकुञ्‍जका वरिष्ठ संरक्षण अधिकृत विरेन्द्र प्रसाद कँडेल लगायतका विज्ञ एवं सरोकारवालाहरुले मन्तव्य दिनुभयो । उहाँहरु आफ्नो मन्तव्यमा सिमसारको महत्व, गरिमा, जीवहरुको साझा बाँच्‍ने आधार अनि विश्व सिमसार दिवस २०२५ को नारा; भविष्यका लागि सिमसार संरक्षण जस्ता विषयहरु उजागर गर्नुभयो । ताल परिसरसँगै वरिपर पर्यटकहरु पैदल परिक्रमा गर्ने अनि अलिक टाढाबाट वन्यजन्तुको अवलोकनसँगै नेचर गाइडको सौजन्यमा जङ्गल हिँड्ने आदि जस्ता पर्यटकीय सम्भावनाका कुराहरु जोडदै बाँके राष्ट्रीय निकुञ्‍जका वार्डेन वीरेन्द्र प्रसाद काँडेल सरले भनाइ राख्नुभयो ।

सिमसार, जीव अस्तित्वको आधार

           तालको पानीको सतहमा पानी चरा, जलेवा, जलचर प्राणीहरुको साझा वासस्थानका रुपमा पायौँ । यसै अवलोकनका क्रममा हामिले रतुवा मृग तालको छेउमा आई पानी खाइराखेको देख्यौँ ।  मौसम सफा र अनुकूल भएकाले चराहरुको बथान पानी सतहमा  घाम तपेर बसेको देख्यौँ। यस बाहेक हामीले थुप्रै ठाँउहरुमा जलीय जीवहरु बस्‍ने प्रचुर मात्रामा डिल/वासस्थानहरुको अवलोकन गर्‍यौँ ।  

         सरिसृप जीव, जलचर प्राणी पनि अन्य जीवजन्तु सरह यस भूमण्डलका उत्तिकै महत्त्वपूर्ण अंश हुन् । पारिस्थतिकीय प्रणालीको सन्तुलनका निम्ति यस्ता लोपोन्मुख र वासस्थानको थुप्रै जोखिम भोगिरहेका जलजीवहरुको साझा जीवन आधार, सिमसार सम्बन्धी जनचेतना र अभिमुखी कार्यक्रमको आवश्यकता देखिन्छ । निकुञ्‍ज प्रशासनका साथै अन्य साझेदार निकायहरु सिमसार संरक्षण, सिमसारमा आश्रित जीवहरुको वासस्थान अनुकूलताको सुनिश्चितिता र थप सिमसारबाट हुने लाभ एवं सेवाहरुको बढोन्‍नतरी गर्दै लग्‍ने जस्ता कार्यक्रम र गुरु योजनाहरुको आवश्यकता देखिएको छ ।


Comments

Popular posts from this blog

“लाइन काटिएको छ, संवाद थप्प”

रिसमा आकुल मन र मनोभूमि प्राङ्‍गण स्थल