बाँके राष्ट्रीय निकुञ्‍जमा घडियाल अनुगमन

 

                                                                                               तस्बिर स्रोत ः गुगल 


 म निज रोहित सिंह यादव , बाँके राष्ट्रीय निकुञ्‍जमा इन्टर्नका रुपमा कार्यरत रहँदै गर्दा राप्ती नदीमा गरिने घडियाल अनुगमनमा सरिक भएँ । सात जनाको टोली रहेको घडियाल अनुगमनका क्रममा बाँके राष्ट्रीय निकुञ्‍जको पूर्वी सेक्टर कार्यालय,कुसुम, बाँकेबाट यात्रा सुरु गर्‍यौँ । ZSL (जुलोजिकल सोसाइटी अफ लण्डन ) र बाँके निकुञ्‍ज कार्यालय, मुख्य कार्यालय, ओभरीको सहयोग र पूर्वी सेक्टर कार्यालयको समन्वयमा र्‍याफ्टमा चढी घडियाल गोहीको प्राकृतिक वासस्थानको स्थलगत निरिक्षण गरी त्यसको अवस्था, वासस्थानको प्रयोग, प्राथमिकता, वासस्थानमा देखापरेका जोखिमहरु इत्यादिबारे ‍अनुगमन गर्न पूर्व योजनाका साथ अघि बढ्यौँ ।

हामी प्राविधिक टोलीका साथमा कुसुमभन्दा अलिक माथि चप्परगौडीबाट आफ्नो पहिलो दिनको यात्रा प्रारंभ गर्‍यौँ । हामीले नदीका बगरमा रहेका घडियालहरु बाइनोकुलर र क्यामेराको सहयोगले हेर्‍यौँ । स्थलगत निगरानीका क्रममा हलुका बादल लागेको मौसम थियो ।  र्‍याफ्ट बिस्तारै बढाउँदै जाँदा घडियालहरु बगरबाट पानीमा आउँदै गरेको देख्यौँ र तिनीहरुको उमेर, गतिविधि, वासस्थानको किसिम, इत्यादि जस्ता जानकारीहरु टिप्यौँ । 

अर्को कुरा,बाँके राष्ट्रीय निकुञ्‍जमा घडियालको संख्या बढाउनका लागि कृत्रिम रुपमा हुर्काइएका करिब २० भन्दा बढी घडियालहरु राप्ती नदीमा छोडिएको थियो । हामीले अनुगमानका क्रममा घडियाल सँगसँगै मगर गोही पनि भेटायौँ । घडियालको आहारमा ससाना माछा प्रजातिहरु पर्दछन् र यो गहिरो पानीमा बस्‍ने गर्छ । मगर गोही अलिक ठूला जलचर जीवहरु खान्छ र प्रायः समय जमिनमा बिताउने गर्छ। यसरी घडियाल र मगर गोही एउटै वासस्थानलाई आफू अनुरुप प्रयोगमा ल्याइराखेका हुन्छन् ।

राप्ती नदी, मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने हुनाले हामीले त्यहाँ अत्याधिक मानवीय चाप जस्तै मानिसहरुका पाइलाका डोबहरु, सुन निकाल्नका निम्ति बालुवा चाल्नेहरुको लस्कर, माछा मार्ने मेस जालहरु, बल्छी थापेको पयौँ साथसाथै मध्यवर्ती सामुदायिक वनहरुमा मानिसहरु दाउरा,स्याउलाका लागि धाइरहेको, गाईवस्तु चरिचरनका लागि ल्याइराखेको, नदीका तटमा लुगा कपडा धुने जस्ता गतिविधिहरु तीव्र भएका कारण प्रायः घडियालहरु देखिने स्थानमा समेत नदेखिएको आशंका गर्‍यौँ ।

अर्को दिन लगत्तै गरिएको अनुगमनमा मौसम सफा र अनुकूल भएकाले घडियाल  बगरे डिलमा घाम तपेर बसेको देख्यौँ अनि हाम्रो चापसँगै त्यो पानीमुनि लुक्यो । यस बाहेक हामीले थुप्रै ठाँउहरुमा गोही बस्‍ने डिल/वासस्थानहरुको अवलोकन गर्‍यौँ ,केही ठाँउमा गोही घस्रेका पाइलाका छापहरु, सङकेतहरु समेत देख्यौँ।

पानीको तापक्रममा आउने फेरबदल र बगरमा गरिने मानवीय गतिविधिका कारण घडियालले वासस्थान साथै आफ्नो चाल/गतिविधिमा परिवर्तन ल्याउन सक्ने प्राविधिक टोलीको दाबी रह्यो । सरिसृप जीव, जलचर प्राणी पनि अन्य जीवजन्तु जस्तै यस भूमण्डलको उत्तिकै महत्त्वपूर्ण अंश हुन् । पारिस्थतिकीय प्रणालीको सन्तुलनका निम्ति यस लोपोन्मुख र वासस्थानको थुप्रै जोखिम भोगिरहेको घडियालबारे जनचेतना र अभिमुखी कार्यक्रमको आवश्यकता देखिन्छ । निकुञ्‍ज प्रशासनका साथै अन्य साझेदार निकायहरु घडियाल संरक्षण, वासस्थान अनुकूलताको सुनिश्चितिता र थप संख्या बढोन्‍नतरी गर्दै लग्‍ने जस्ता कार्यक्रम र गुरु योजनाहरुको आवश्यकता देखिएको छ ।

          

 


Comments

Popular posts from this blog

“लाइन काटिएको छ, संवाद थप्प”

रिसमा आकुल मन र मनोभूमि प्राङ्‍गण स्थल

बाँके रा.नि.भित्र कनुवा तालमा सिमसार दिवस सम्पन्‍न